फाइल तस्बिरकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ ५ बजे हुनेछ ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले लुम्बिनीसँगको फाइनल भेट पक्का गरेको हो ।
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो । यससँगै लगातार दोस्रो सिजन लुम्बिनी र सुदूरपश्चिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो ।
यस सिजन लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोडेर दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी सीधै फाइनल पुगेको थियो ।
दोस्रो क्वालिफायरमा चितवनलाई हराएपछि सुदूरपश्चिमले पुनः लुम्बिनीसँग उपाधिका लागि भिड्ने अवसर पाएको हो ।
यस सिजन लिग चरण र पहिलो क्वालिफायर गरी लुम्बिनी र सुदूरपश्चिमबीच दुई खेल भएका छन् । दुवै खेलमा लुम्बिनी विजयी भएको छ । अब फाइनलमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम यसअघि पहिलो संस्करणको फाइनलमा पनि पुगेको थियो । तर, जनकपुर बोल्ट्ससँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो । यसपटक भने सुदूरपश्चिम पहिलो एनपीएल उपाधिको खोजीमा हुनेछ ।

























