
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको बताए । युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले त्यसो हुन नसके राप्रपा नाममा मात्रै सीमित हुन सक्ने धारणा राखे ।
पार्टीमा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै शाहीले सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको बताए । पुराना नेताहरूको योगदान र विचारको सम्मान गर्दै उनीहरूको सुझावसहित युवालाई नेतृत्वमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
‘राप्रपामा पुस्तान्तरण हुन सकेन । हामीले पुस्तान्तरण गर्न सकेनौँ भने जनतामा जाँदा एमाले, नेकपा र कांग्रेसका नेताको घरमा गएर एक–दुई सिट माग्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।
राप्रपाको महाधिवेशन मंसिर अन्तिम साता हुँदैछ ।

























