
काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रसँग सम्बन्धित दर्जनौँ ऐन एकैपटक संशोधन गर्ने तयारी गरेको छ । यसका लागि सरकारले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ को मस्यौदा तयार पारेको छ ।
सरकारले लगानी प्रवर्द्धन तथा सहजीकरण, उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र विस्तारसँगै पूर्वाधार विकास, आयोजना तयारी तथा कार्यान्वयनसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न लागेको हो ।
त्यस्तै, वित्तीय स्रोत परिचालन, प्रशासनिक प्रक्रिया सरलीकरण र नियामकीय समन्वयमा देखिएका कानुनी जटिलता हटाउन तत्काल सुधार आवश्यक रहेको भन्दै सरकारले अध्यादेशमार्फत विभिन्न ऐन संशोधनको तयारी गरेको जनाएको छ ।
संशोधन गर्न लागिएका ऐनमा सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, कम्पनी ऐन, औषधि ऐन, जलस्रोत ऐन र नेपाल विद्युत् प्राधिकरण ऐनलगायत छन् ।

























