
विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीको उखुबारीमा एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ । करिब २५–२६ वर्ष उमेरका देखिने युवकको शव शुक्रबार दिउँसो घोप्टो परेको अवस्थामा भेटिएको हो ।
उखुबारीभित्र शव फेला परेको हो । युवकको शरीरमा लगाएका कपडाहरू यथावत् छन् । उनको दाहिने कानमा चोट लागेको र घाउबाट सामान्य रगत बगिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले युवकको शव शंकास्पद अवस्थामा फेला परेको पुष्टि गरेका छन् । घटनाको जानकारी पाएलगत्तै उनी आफैं प्रहरी टोलीसहित घटनास्थल पुगेका छन् ।
युवकको मृत्यु वन्यजन्तुको आक्रमणबाट भएको हो वा हत्या गरेर शव उखुबारीमा फालिएको हो भन्ने खुलेको छैन । यद्यपि, घटनास्थलको प्रारम्भिक अवस्थालाई हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने प्रहरीको आशंका छ ।
एसपी कटवालले शव पोस्टमार्टमका लागि पठाइने र त्यसको रिपोर्ट तथा प्रहरीको अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने बताए । मृतक युवकको पहिचानसमेत खुल्न बाँकी छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा अन्य प्रमाण संकलन गरेर अनुसन्धान थाल्ने प्रक्रिया अघि बढाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

























