
विराटनगर । अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा लागुऔषध नियन्त्रणमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उदयपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अस्वीन तोलांगे कोशी प्रदेशको कात्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत इन्स्पेक्टर तोलांगेलाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो।
प्रहरीका अनुसार तोलांगेले उदयपुरको बेलका नगरपालिका–३ जगनास्थित गिदेरी खोलाको काँसघारीमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएर फरार भएका अभियुक्त समिर परियारलाई खोजतलास गरी पक्राउ गर्न सफल भएका थिए। उनले उक्त घटनाको अनुसन्धानसमेत प्रभावकारी रूपमा अघि बढाएका थिए।
त्यस्तै, बेलका नगरपालिका–९ रामपुर बजारमा पैदलयात्री ५६ वर्षीया लक्ष्मीकुमारी राईलाई ठक्कर दिई फरार भएको बोलेरो गाडी र चालक प्रेमबहादुर विकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उक्त दुर्घटनामा राईको मृत्यु भएको थियो।
लागुऔषध नियन्त्रणतर्फ पनि इन्स्पेक्टर तोलांगेले उल्लेखनीय काम गरेका थिए। बेलका नगरपालिका–७ स्थित पित्लाङ जंगलमा लुकाई छिपाइ राखिएको अवस्थामा २ हजार ८२० दशमलव ५० किलो गाँजा बरामद गरिएको थियो। सोही स्थानमा करिब ६ रोपनी क्षेत्रफलमा लगाइएको २ हजार २०० गाँजाका बोटसमेत फडानी गरी नष्ट गरिएको थियो।
अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ, सवारी दुर्घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने तथा लागुऔषध नियन्त्रणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

























