
झापा । दोस्रो झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । मंसिर ५ गते शनिबारदेखि १२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोली सहभागी हुँदैछन् ।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले सबै तयारी पूरा भएको जानकारी दिए । पहिलो संस्करण ऐतिहासिक रूपमा सम्पन्न भएको उल्लेख गर्दै उनले यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाइएको बताए ।
प्रतियोगिताका लागि दुधे रंगशालामा १२ हजार दर्शक क्षमताको आल्मुनियम र बाँसको प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ । अध्यक्ष थोप्राका अनुसार प्रत्येक टिकट बिक्रीबाट प्राप्त हुने १० रुपैयाँ दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको हितमा खर्च गरिनेछ । फरक क्षमता भएका व्यक्ति र १० वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । उद्घाटन खेल हेर्न स्थानीय सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका विद्यार्थीलाई पनि निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनमा करिब एक करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उद्घाटन खेलमा आयोजक झापा ११ र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका तीन विभागीय टोली एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका साथै झापा ११, आरएस पोखरा फुटबल क्लब र बागमती युथ क्लब सहभागी हुनेछन् । त्यसैगरी भुटानको थिम्पु राभेन वुमन एफसी र भारतको एभिएफसीले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

























