जसपा नेपालका यादव मधेशको मुख्यमन्त्री नियुक्त

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १३:५७

जनकपुरधाम । मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि कुनै पनि राजनीतिक दलले दाबी पेस नगरेपछि प्रदेश प्रमुखले उपधारा (३) बमोजिम जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

प्रदेश प्रमुखले उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिएका थिए । तर, तोकिएको समयभित्र कुनै पनि राजनीतिक दलले सरकार गठनका लागि दाबी पेस गरेनन् ।

त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूमध्ये सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादवलाई शनिबार दिउँसो मुख्यमन्त्री नियुक्त गरिएको हो । यादव बारा जिल्लाका हुन् ।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.