
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा ‘राक्षसीराज’ चलिरहेको टिप्पणी गर्दै त्यसविरुद्ध नेसनल युथ फोर्स आन्दोलनमा उत्रिन सक्ने चेतावनी दिएका छन् ।
एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूलाई बिनाकारण गिरफ्तार गरी १३ दिन हिरासतमा राखिएको भन्दै सरकारको आलोचना गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका आफूलाई मुद्दासमेत चलाउन नसकी हिरासतमा राखिएको उनको भनाइ थियो ।
आफ्नो गिरफ्तारीको विरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा नेताहरूमाथि सरकारले दुर्व्यवहार र दमन गरेको आरोप लगाउँदै ओलीले अब शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए प्रतिवाद गर्ने बताए । नेसनल भोलेन्टियर्स फोर्स देखाउनका लागि नभई काम र परिवर्तनका लागि गठन गरिएको उल्लेख गर्दै उनले यो शान्तिपूर्ण सङ्गठन भएको बताए । तर, कसैले आक्रमण वा हस्तक्षेप गर्न आए चुप लागेर नबस्ने उनको भनाइ थियो ।
ओलीले विगतमा शान्तिपूर्ण रूपमा सडकमा उत्रिएका युवामाथि लाठी प्रहार गरिएको र अपमानजनक व्यवहार भएको आरोप लगाए । त्यतिबेला आफूहरूले त्यस्तो दमनको कल्पना नगरेकाले प्रतिवादको तयारीसमेत नगरेको भन्दै उनले त्यसबाट शिक्षा लिएको बताए ।
नेताहरूलाई अन्यायपूर्ण ढङ्गले पक्राउ गरे चुप लागेर नबस्ने चेतावनी दिँदै ओलीले राक्षसीराज जारी राख्न खोजिए नेपाली जनता, युवा र नेसनल युथ फोर्स आन्दोलनमा उत्रिने बताए ।

























