
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक पदबाट हटाएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सोमबार सुनुवाइ हुँदैछ । कार्कीले आफूलाई प्रहरी ऐन र नियमावली विपरीत पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको माग गरेका छन् ।
उनले नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन् ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सरकारलाई आदेश दिएको थियो ।
सोही इजलासले अन्तरिम आदेशको विषयमा छलफल गर्न आजका लागि दुवै पक्षलाई बोलाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको उक्त रिटमा आज हुने सुनुवाइले नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीको नियुक्तिसम्बन्धी निर्णय रोक्ने वा नरोक्ने भन्ने विषयमा टुङ्गो लगाउनेछ ।
सरकारले कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो भने उनको स्थानमा डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

























