
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले अदालतको म्याद नबुझेपछि पूर्वआईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सोमबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ।
रिटमा विपक्षी बनाइएका अन्य पक्षले अदालतको म्याद बुझिसके पनि आईजीपी केसीले भने म्याद नबुझेका कारण सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो।
म्याद तामेल हुन बाँकी रहेको जानकारी पाएपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासले महान्यायाधिवक्तालाई बोलाएर आईजीपी केसीलाई म्याद बुझाउने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ।
केसीले अदालतको म्याद बुझेपछि मात्रै रिटमाथिको सुनुवाइका लागि नयाँ मिति तोकिनेछ।
यसअघि गत मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

























