
झापा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर रेखा पौडेलले ह्याट्रिकसहित चार गोल गरेपछि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। झापाको दुधेमा मंगलबार भएको खेलमा पुलिसले बागमती युथ क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। अब पुलिसले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी एफसीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।
पुलिसको जितमा रेखा पौडेलले चार गोल गरिन्। कप्तान अमृता जैसी र सम्झना लावतीले एक–एक गोल थपे। खेलको १५औँ मिनेटमा पूजा रानाको फ्रिकिकमा अमृताले हेडमार्फत गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्।
त्यसको दुई मिनेटपछि निर्मला विकमाथि बागमतीका खेलाडीले डी एरियाभित्र फल गरेपछि पुलिसले पेनाल्टी पायो। पेनाल्टीमा रेखा पौडेलले गोल गर्दै अग्रता दोब्बर बनाइन्। खेलको ४२औँ मिनेटमा रेखामाथि सुहानी राईले डी एरियाभित्र फल गरेपछि प्राप्त अर्को पेनाल्टीलाई पनि रेखाले गोलमा परिणत गरिन्।
पहिलो हाफको अतिरिक्त समयमा सम्झना लावतीले गोल थप्दै पुलिसलाई ४–० को अग्रता दिलाइन्। मिना देउवाको प्रहार रिबाउन्ड भएपछि प्राप्त बललाई लावतीले पोस्टको दिशा दिएकी थिइन्।
दोस्रो हाफमा बागमतीले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन। खेलको ८३औँ मिनेटमा डी एरिया नजिकै प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै रेखाले ह्याट्रिक पूरा गरिन्। त्यसको दुई मिनेटपछि मैदानको मध्यभागबाट बल अघि बढाउँदै विपक्षी पोस्टको सेकेन्ड बार च्यापेर उत्कृष्ट गोल गरेपछि उनले व्यक्तिगत चार गोल पूरा गरिन्।
खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा झापा–११ फुटबल क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

























