चार महिनामै सवा अर्बको लसुन आयात

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १४:५१

काठमाडौं । नेपाली बजारमा लसुनको माग धान्न ठूलो रकम विदेशिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै नेपालले १ अर्ब १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको लसुन आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक मसान्तसम्म नेपालमा ७ हजार ४ सय ३८ टन लसुन भित्रिएको छ । उक्त परिमाणको लसुन आयात गर्दा १ अर्ब १६ करोड ९२ लाख ८१ हजार रुपैयाँ विदेशिएको छ । लसुन आयातबाट सरकारले २८ करोड २७ लाख ४० हजार रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ५ हजार ४ सय ७ टन लसुन आयात भएको थियो । त्यसबेला ७४ करोड १७ लाख ७ हजार रुपैयाँ बराबरको लसुन आयात हुँदा १८ करोड ४ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष लसुन आयात परिमाण ३७.५७ प्रतिशतले बढेको छ । त्यस्तै, आयातमा खर्च हुने रकम ५७.६५ प्रतिशत र राजस्व संकलन ५६.६९ प्रतिशतले वृद्धि भएको छ ।

आयातित लसुनमध्ये ताजा तथा चिस्याइएको लसुनको हिस्सा सबैभन्दा बढी छ । चालु आर्थिक वर्षको चार महिनामा ६ हजार ९ सय टन ताजा लसुन आयात भएको छ । यसका लागि ९९ करोड ७८ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ भने सरकारले २४ करोड २७ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

गत वर्षको सोही अवधिमा ४ हजार ८ सय ७० टन ताजा लसुन ६४ करोड ७१ लाख ४ हजार रुपैयाँमा आयात भएको थियो । यस वर्ष ताजा लसुनको आयात परिमाण ४१.६९ प्रतिशत र मूल्य ५४.२० प्रतिशतले बढेको छ ।

सुकेको लसुनको आयात परिमाण भने लगभग स्थिर देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नकुटिएको तथा नपिँधिएको ४ सय ७ टन र कुटिएको वा पिँधिएको १ सय ३० टन गरी कुल ५ सय ३७ टन सुकेको लसुन आयात भएको छ ।

सुकेको लसुन खरिदका लागि १७ करोड १४ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । यसबाट सरकारले ३ करोड ९९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा ५ सय ३६ टन सुकेको लसुन ९ करोड ४६ लाख ३ हजार रुपैयाँमा आयात भएको थियो । यसले सुकेको लसुनको आयात परिमाणमा खासै परिवर्तन नभए पनि आयात मूल्य उल्लेख्य बढेको देखाउँछ ।

देशगत विवरणअनुसार नेपाली बजारमा आयात हुने लसुनमा चीनको हिस्सा सबैभन्दा ठूलो छ । चालु आर्थिक वर्षको चार महिनामा चीन र भारतबाट मात्रै लसुन आयात भएको छ । कुल आयातको ९२.७५ प्रतिशत हिस्सा चीनले ओगटेको छ ।

यस अवधिमा चीनबाट ६ हजार ८ सय ९८ टन ताजा लसुन ९९ करोड ७७ लाख २२ हजार रुपैयाँमा आयात भएको छ । यसबाट २४ करोड २७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत वर्षको सोही अवधिमा चीनबाट ४ हजार ८ सय ५२ टन लसुन ६४ करोड ५७ लाख ५७ हजार रुपैयाँमा आयात भएको थियो । यस वर्ष चीनबाट हुने लसुन आयात परिमाण ४२.१७ प्रतिशत र मूल्य ५४.५० प्रतिशतले बढेको छ ।

भारतबाट भने चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ताजा र सुकेको गरी ५ सय ३९ टन लसुन आयात भएको छ । यसको मूल्य १७ करोड १५ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

भारतबाट १.५ टन मात्रै ताजा लसुन आयात भएको छ भने बाँकी सबै सुकेको लसुन रहेको छ । भारतबाट भएको आयातबाट सरकारले ३ करोड ९९ लाख ९१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा भारतबाट ५ सय ५४ टन लसुन ९ करोड ५९ लाख ४८ हजार रुपैयाँमा आयात भएको थियो । यस वर्ष भारतबाट आयात हुने लसुनको परिमाण २.७ प्रतिशतले घटे पनि मूल्य भने ७८.८० प्रतिशतले बढेको छ ।

यसरी लसुनको आयात परिमाण र त्यसमा खर्च हुने रकम दुवै बढ्दै जाँदा नेपाली बजारको माग पूरा गर्न ठूलो रकम विदेशिने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.