इलाममा साढे १६ लाखका अवैध सामान र चौपाया बरामद

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार ०९:५४

इलाम । इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्मले १६ लाख ५३ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ ।

गुल्मले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि मंसिर ९ गतेसम्म विभिन्न समयमा सञ्चालन गरेको कारबाहीका क्रममा उक्त मूल्य बराबरका सामान तथा चौपाया बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा स्याउ, फर्सीका बियाँ, जुत्ता–चप्पल, मदिराजन्य पदार्थलगायतका सामान बरामद गरिएको छ ।

बरामद सामग्रीमा १७८ कार्टुन अर्थात् तीन हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५७० किलो फर्सीका बियाँ, जुत्ता–चप्पल तथा विभिन्न चौपाया छन् ।

सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा क्षेत्र र खोलागोदाम आसपासका स्थानबाट ती सामग्री बरामद गरिएको हो । सशस्त्र प्रहरीका अनुसार बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसेका प्रहरी सम्मिलित संयुक्त टोलीले कारबाही गरेको थियो ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि नियमित गस्ती र निगरानीलाई तीव्रता दिइएको सीमा सुरक्षा गुल्म पशुपतिनगरका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.