भारतसहित १४ देशमाथि नयाँ भन्सार शुल्क लगाउँदै अमेरिका

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार ०९:५७

एजेन्सी । अमेरिकाले भारतसहित आफ्ना प्रमुख व्यापारिक साझेदार १४ देशमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेको छ । विभिन्न उत्पादन क्षेत्रमा आवश्यकताभन्दा बढी उत्पादन र उत्पादन क्षमता रहेको विषयमा गरिएको अनुसन्धानपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।

‘रोयटर्स’का अनुसार नयाँ भन्सार शुल्क निर्धारण गर्नुअघि अमेरिकी व्यापार कानुनको धारा ३०१ अन्तर्गत अनुसन्धान गरिएको थियो ।

अनुसन्धानको दायरामा भारत, चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश र जापान रहेका छन् । अमेरिकाले देश र उत्पादनअनुसार फरक–फरक दरमा भन्सार शुल्क लगाउने जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म भन्सार शुल्क लगाइनेछ । भियतनाममाथि ३५ प्रतिशतसम्म शुल्क लाग्नेछ भने अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क निर्धारण गरिएको छ ।

थाइल्यान्ड र भारतमाथि अधिकतम २५ प्रतिशतसम्म भन्सार शुल्क लाग्नेछ। त्यस्तै, जापानलगायत केही देशमाथि अधिकतम २० प्रतिशतसम्म शुल्क लगाइनेछ। यो सूचीमा बेलायत भने समावेश छैन ।

यद्यपि, अनुसन्धानको दायरामा परेका सबै देशमाथि घोषित अधिकतम शुल्कदर लागू नहुन सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै केही देशसँग व्यापार सम्झौता गरी भन्सार शुल्कको अधिकतम सीमा निर्धारण गरिसकेका छन् । त्यसैले ती देशका हकमा सम्झौताअनुसार वास्तविक शुल्कदर कम हुन सक्नेछ ।

नयाँ भन्सार शुल्कले अमेरिकाका प्रमुख व्यापारिक साझेदारसँगको व्यापार सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.