झापामा अनुदानको मल दुरुपयोग गर्नेलाई दुई लाख जरिवाना

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ०९:५१

झापा । सरकारी अनुदानको रासायनिक मल दुरुपयोग गरी बिक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थित सञ्जीवनी कृषि भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल अन्यत्र बिक्री गरिएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा खटिएको टोलीले आज कृषि भण्डारमा आकस्मिक अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा तोकिएको सर्तअनुसार मल वितरण नगरेको र बिलबिजक जारी नगरी आफूखुसी बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रायमाझीले जानकारी दिए ।

प्रेमप्रसाद भट्टराई सञ्चालक रहेको उक्त भण्डारले मङ्सिर ८ र ९ गते बिर्तामोडस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट किसानलाई वितरण गर्न लगेकोमध्ये १०९ बोरा डीएपी र ५० बोरा युरियाको मौज्दात तथा बिक्री विवरण देखाउन नसकेको प्रशासनले जनाएको छ ।

अनुगमन टोलीले उक्त मल लक्षित किसानलाई वितरण नगरी बिलबिजकबिनै अन्यत्र बिक्री गरेको निष्कर्ष निकालेको छ । टोलीले पसल तथा गोदाममा रहेका मलको मौज्दात, बिक्री विवरण, बिलबिजक र अन्य कागजात जाँच गरी थप अनुसन्धानका लागि अभिलेख नियन्त्रणमा लिएको छ ।

सरकारले किसानलाई राहत दिन प्रतिबोरा ५० केजी डीएपीमा चार हजार ४६६ रुपैयाँ ५७ पैसा र युरियामा तीन हजार १०१ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ । अनुदानका कारण बजारमा ६ हजार ६६६ रुपैयाँ ५७ पैसा पर्ने डीएपी किसानले दुई हजार २०० रुपैयाँमा तथा तीन हजार ८५१ रुपैयाँ २८ पैसा पर्ने युरिया ७५० रुपैयाँमा खरिद गर्न पाउँछन् ।

यसैगरी, टोलीले बुद्धशान्ति–३ स्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरेको थियो । सहकारीमा अनुदानको मलको बिक्री वितरण पारदर्शी र नियमसङ्गत पाइएको कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख सागर विष्टले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.