
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ टोड्केका ४२ वर्षीय हिमालध्वज लिम्बू पेटमा खुकुरी प्रहारबाट घाइते भएका छन् ।
शुक्रबार बिहान करिब ७:४५ बजे उनी घरबाट करिब एक किलोमिटर पूर्वमा रहेको स्थानीय हर्क लिम्बूको घरआँगनमा पेटमा चोट लागेर घाइते अवस्थामा भेटिएका थिए । प्रहरी चौकी मुढेवासमा सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार लिम्बू राति करिब २ बजे कसैलाई जानकारी नदिई घरबाट निस्किएका थिए । हर्क लिम्बूको गोठमा रहेको खुकुरीले आफ्नै पेटमा प्रहार गरेको उनले प्रहरीसमक्ष बताएका छन् । उनको बोल्ने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनी मानसिक रूपमा अस्वस्थ रहेको र बेलाबेला आफूखुसी हिँड्ने तथा हराउने गरेको स्थानीयबाट बुझिएको प्रहरीले जनाएको छ ।

























