क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार ११:०७

काठमाडौं । वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लका अनुसार बिहीबार राति करिब ११:५० बजे खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा नौ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिकाका विजय अग्रवाल, सन्तोषकुमार यादव, अनुरागकुमार र दीपक साह छन् ।

त्यस्तै, पर्सागढी गाउँपालिकाका दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका नरेशप्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका गुन्जमान मोक्तान, सिन्धुलीको मरिण गाउँपालिकाका विनोदकुमार र काठमाडौको शंखरापुर नगरपालिकाका राजेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।

नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जना पनि पक्राउ परेका छन् । उनीहरूमा बैतडीको दोगडाकेदार गाउँपालिकाका तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका दीपकराज पराजुली छन् ।

प्रहरीले पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.