
ताप्लेजुङ । ओलाङचुङगोलासम्म पुगेको सडकलाई नेपाल–चीन सीमावर्ती टिपताला भन्ज्याङसम्म विस्तार गर्न फक्ताङलुङ गाउँपालिका र जलविद्युत् कम्पनीले सहकार्य गर्ने भएका छन् ।
फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार सुपर हाइड्रो पावर कम्पनीले दुईवटा स्काभेटर उपलब्ध गराउने र गाउँपालिकाले डिजेलको व्यवस्था गर्ने सहमति भएको छ ।
ओलाङचुङगोलादेखि टिपताला भन्ज्याङसम्मको दूरी २२ किलोमिटर छ । यसअघि फक्ताङलुङ गाउँपालिका–६ को लेलेपदेखि वडा नम्बर ७ को ओलाङचुङगोलासम्म सुपर तमोर र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा सडक मर्मत गरिएको थियो ।
परिषद्का सचिव मनकुमार लिम्बूका अनुसार सडक मर्मतका लागि संरक्षण क्षेत्रले डिजेल र सुपर तमोरले मेसिन उपलब्ध गराएका थिए। सडक कार्यालयको भने यसमा भूमिका नरहेको वडा कार्यालयले जनाएको छ ।
सडक ठाउँठाउँमा भत्किएपछि गत चैतदेखि ओलाङचुङगोलासम्म सवारीसाधन पुग्न सकेका थिएनन् । जेठ महिनासम्म इलाडाँडा–सुकेपानीसम्म साना सवारीसाधन पुगे पनि ठाडा खोलामा पानीको बहाव बढेपछि लेलेपसम्म मात्रै सवारी पुगेको स्थानीयले बताएका छन् । लेलेपबाट ओलाङचुङगोला पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।
सिंजेमा ताल, साम्दो ताल र टिपताला भन्ज्याङ जानेको सङ्ख्या अहिले उल्लेख्य रहेको छ । नेपाल–चीन सीमामा रहेको टिपताला भन्ज्याङ समुद्र सतहबाट पाँच हजार तीन सय मिटर उचाइमा छ ।

























