युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार १४:४५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन् । उनले गत साता चीनमा भएको भेटका क्रममा पुटिनसँग यस विषयमा छलफल गरेको र यसले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेनबीच चाँडै सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको बताए । यद्यपि, उनले कुन भूभागमा सैन्य आक्रमण रोक्ने भन्ने स्पष्ट पारेको छैन । विशेषगरी, सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेको युक्रेनको नाम उल्लेख गरेको छैन ।

फ्लोरिडामा नेटो महासचिव मार्क रुटसँगको भेटपछि ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो । दुवै नेताले रुसलाई युक्रेन युद्ध विस्तार नगर्न आग्रह गर्दै संयुक्त वक्तव्य जारी गरेका थिए । गत साता नेटो सदस्य पोल्यान्डमा तीनवटा रुसी क्रुज क्षेप्यास्त्र खसेपछि युरोपेली राष्ट्रहरू रुसी गतिविधिप्रति थप चिन्तित बनेका छन् ।

ट्रम्पले रुसभित्र गहिरो क्षेत्रमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेको भए पनि किएभलाई संयम अपनाउन आग्रह गरेको छैन । उनले युक्रेनलाई ज्याभलिन क्षेप्यास्त्र बिक्री गर्न आफ्नो पहिलो कार्यकालमा स्वीकृति दिएको स्मरण गर्दै त्यसले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउन सहयोग गरेको दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.