
विराटनगर । विराटनगरको मोडर्न एरा इंग्लिस स्कुलमा ‘मोडर्न एरा लिटल्स च्याम्प्स’ को पाँचौँ संस्करण (सिजन–५) सुरु भएको छ । विद्यालय परिसरमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो ।
अमेरिकाकी मोटिभेसनल स्पिकर लेटिजिया पिलेग्गीले कार्यक्रमको उद्घाटन गरिन् । कार्यक्रममा भारतका मोटिभेसनल स्पिकर जावेद आलमलगायतको विशेष सहभागिता रहेको थियो ।
पाँच वर्षमा प्रवेश गरेको यो प्रतियोगिता गायन, नृत्य र मोडलिङ विधामा आधारित एउटा ‘रियालिटी सो’ का रूपमा सञ्चालन हुने विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईले जानकारी दिए । उनका अनुसार यस वर्ष विद्यालयमा अध्ययनरत करिब साढे नौ सय विद्यार्थी सबैलाई सुरुमा ती विधामा प्रशिक्षण दिइनेछ ।
प्रशिक्षणपछि अडिसनमार्फत विद्यार्थी छनोट गरिने प्रिन्सिपल राईले बताए । ‘सेलेक्सन राउन्ड, फस्ट राउन्ड, सेकेन्ड राउन्ड, सेमिफाइनल र फाइनल गरी पाँच चरणमा प्रतियोगिता सम्पन्न हुनेछ,’ उनले भने, ‘अन्तिम चरणमा छनोट हुने उत्कृष्ट १० विद्यार्थीबीच ग्रान्ड सो आयोजना गरी प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिनेछ ।’
प्रिन्सिपल राईका अनुसार प्रतियोगिताको फाइनल आगामी माघ महिनाको अन्तिम सातामा हुनेछ । प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई छात्रवृत्ति, नगद पुरस्कार, मेडल र ट्रफीलगायतका पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै आत्मविश्वास अभिवृद्धि गर्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने प्रिन्सिपल राईको विश्वास छ । ‘विद्यार्थीहरूले आ–आफ्नो रुचिको विधामा राम्रो गर्दै भोलि देशकै कलाकार, देशको गरिमा र इज्जत बन्न सकुन् भनेर यसलाई एउटा बलियो प्लेटफर्मका रूपमा लिएका छौँ,’ उनले भने ।

























