
काठमाडौं । नेपाल २० वर्षमुनिको साफ च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको हाे ।
समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोली एक खेल अघि नै सेमिफाइनल पुगेका हुन् । लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।
बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक–एक गोल गरेको थियो । खेलको १७औं मिनेमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गरे ।



















