विराटनगरमा रोट्रयाक्ट क्लबले गर्यो वृक्षारोपण

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार १२:४२

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले ‘रोपाइँ जात्रा’ कार्यक्रमअन्तर्गत वृक्षारोपण आयोजना गरेको छ । क्लबले विराटनगरमा ‘रोपाइँ जात्रा’ शीर्षकमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, आदर्श माविको व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्मको सडकका दुवै किनारमा विरुवासहित १ सय ५० थान गमला राखिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । गमलामा रोपेका विरुवाको स्थानीय व्यापारीले संरक्षण गर्ने जनाइएको छ । उनीहरूले आफ्नो पसल अगाडिको विरुवामा पानी लगाएर रेखदेख गर्ने कोइरालाले बताए ।

सो कार्यक्रम रोट्रयाक्ट क्लब र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले संयुक्त रुपमा आयोजना गरेका हुन् । विराटनगरलाई हरियाली र सुन्दर बनाउने उद्देश्यसहित वृक्षारोपण गरिएको रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका प्रेसिडेन्ट जीना थापाले जानकारी दिइन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराईले वनजंगलको विनाश र विकसित मुलुकहरूबाट हुने हानिकारक कार्बन उत्सर्जनले सिंगो मानव समुदायको अस्तित्व खतरामा परेको बताए । उनले घरघरका साथै नगर क्षेत्रभरि वृक्षारोपणका गर्न आह्वानसमेत गरे ।

सो अवसरमा आदर्श माविका विद्यार्थीहरूले समेत वृक्षारोपणमा साथ दिएका थिए । विराटनगरमा पछिल्लो समय वृक्षारोपणको अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ । स्थानीयवासीसमेत वृक्षारोपणमा स्वतस्फुर्त सहभागी भएको देखिन्छ ।

आफ्नो पसल र घर अगाडिका विरुवामा पानी र मल लगाएर संरक्षण गर्ने गर्न विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आग्रहसमेत गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.