विराटनगरमा रथयात्राको भव्य तयारी, हजारौं भक्तजन सहभागी हुने

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार १७:०७

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा मंगलबार निस्कँदै छ । राधाकृष्णको युगल जोडीको रथयात्रा भाद्र ११ गते मंगलबार विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्कने भएको हो ।

राधाकृष्ण रथयात्रा समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै ९३ औं रथयात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । समितिका अध्यक्ष कैलाश रेग्मीले भने, ‘यस पटक विगतभन्दा फरक र अझ भव्य रुपमा रथयात्रा निकाल्ने तयारी भइरहेको छ ।

 

रथयात्रामा नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने अपेक्षा गरेका छौं । यो रथयात्रा नेपालको सबैभन्दा ठूलो र पुरानो भएकोले पनि यसको छुट्टै महत्व राख्ने भएकाले भक्तजनहरुको बाक्लो उपस्थिति हुने गरेको हो ।’

दिउँसा साढे ३ बजेतिरदेखि मन्दिरदेखि सुरु हुने रथयात्राले पुनः मन्दिरसम्म आइपुग्दा नगरको ९ किलोमिटर यात्रा तय गर्ने छ । रथयात्रा सम्पन्न हुन करिब ६ घण्टा लाग्ने बताउँदै, समितिका उपाध्यक्ष नन्दकिशोर राठीले भने, ‘भक्तजनहरुलाई युगल जोडी राधाकृष्णको रथलाई पूजाआजा गर्न सहज हुने गरी व्यवस्था मिलाएका छौं । जसका लागि ४३ स्थानमा विश्राम हुनेछ । रथयात्रामा विगतको जस्तो व्यवसायी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएका छौं किनभने यसले रथयात्राको शोभा राम्रो देखिएन ।’

मन्दिर परिसरबाट सुरु भएको रथयात्राले तीनपैनी चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, बिजुली अफिस चोक, बरगाछी चोक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुनेछ ।

वि.सं. १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.