
खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिका–४ मुलगाउँमा चट्याङ्ले लागेर शनिबार राति एक जना युवकको मृत्यु भएको छ ।
चट्याङले ३३ वर्षीय तीर्थ कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर अभिषेककुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार साँझ ६ः२० बजेतिर हावाहुरी र वर्षासँगै आएको चट्याङले लागेर आफ्नै घरको बरन्डामा बसिरहेका कटुवाल गम्भीर घाइते भएका थिए ।
उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । उपचारकै क्रममा राति ११ बजेतिर उनको मृत्यु भएको इन्सपेक्टर श्रेष्ठले बताए । उनका अनुसार कानुनी प्रक्रिया पूरा गर्दै पोस्टमार्टम गरेर शवलाई अन्त्येष्टिका कारण परिवारको जिम्मा लगाइएको छ ।























