श्रीकृष्ण जन्माष्टमी मनाइँदै

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १०, सोमबार ०७:१०

विराटनगर । भगवान श्रीकृष्णको पूजा–आराधना गरेर देशभर श्रीकृष्ण जन्माष्टमी पर्व आज (सोमबार) मनाइँदै छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने गर्छन् । भगवान श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ । द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । श्रद्धालुले श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरिरहेका छन् । यस अवसरमा कृष्ण मन्दिरहरुमा ठूलो मेला लाग्छ । श्रीकृष्ण जन्माष्टमी का अवसरमा व्रत बसेर रातभर जाग्राम बस्ने चलन पनि छ ।

श्रीकृष्णको जन्म अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा भएको मान्ने गरिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको मान्यता छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामलेसमेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको मानिन्छ ।

पौराणिक ग्रन्थमा बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउँदै श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको उल्लेख छ । मुलुकभरका विभिन्न धार्मिक संघ संस्थाले श्रीकृष्णको झाँकीसहितको शोभायात्रा तथा रथयात्रा निकाल्ने गर्छन् । पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयहरुले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रूपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस्ता कार्यक्रमले बालबालिकामा श्रीकृष्ण जन्माष्टमीको महत्त्व बुझ्न सहयोग पुग्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.