कोशी प्रदेश डेंगुको जोखिममा, १ हजारभन्दा बढीमा संक्रमण

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १०, सोमबार ०८:५०
विराटनगरको कोशी अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि पुगेकाहरुको भीड ।

विराटनगर । कोशी प्रदेशमा डेंगुको जोखिम बढ्दै गएको छ । फैलने क्रममा रहेको डेंगुले महामारीको रूप लिने देखिन्छ ।

पछिल्लो समय तीव्र गतिमा संक्रमण फैलिरहेको छ । प्रदेशमा हालसम्म १ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार हालसम्म संक्रमितको संख्या १ हजार ६९ पुगेको हो ।

प्रदेशका स्वास्थ्य संस्थामा डेंगुसँग मिल्दाजुल्दा लक्षण देखिने बिरामीको चाप ह्वात्तै बढेको छ । आँखा रातो हुने, टाउको र शरीर दुख्नेलगायतका लक्षण लिएर उपचारका लागि आउने बिरामीको संख्या धेरै रहेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

विराटनगरस्थित कोशी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर लक्ष्मीनारायण यादवले डेंगुको जोखिम बढ्दै गइरहेको बताए । ‘डेंगुको लक्षणसँग मिल्दाजुल्दा बिरामी धेरै आउन थालेका छन्,’ उनी भन्छन्, ‘नियन्त्रणका लागि बेलैमा चासो नदिए डेंगु महामारीका रूपमा फैलन सक्छ ।’

डेंगु लागेका बिरामीमध्ये कसैको ‘प्लेटलेट’ कमी भएर जाने, कलेजो (लिभर)मा असर गर्ने र वान्ता हुने लगायतका लक्षण देखिने डा. यादवको भनाइ छ । कोशी अस्पतालमा साउन २८ गतेदेखि हालसम्म १३ जना डेंगु संक्रमित उपचारका लागि भर्ना भइसकेको जानकारी उनले दिए ।

उनका अनुसार ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेंगी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको संक्रमणबाट बच्न घर वरिपरि सफा राख्न र पानी जम्न नदिन तथा लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक रहेको सुझाव चिकित्सकले दिएका छन् ।

कोशी प्रदेशमा वैशाखदेखि असारसम्म ३ सय ८६ जनामा डेंगुको संक्रमण देखिएको थियो । तर, असारपछि संक्रमण दर बढेर गएको छ । साउनदेखि हालसम्ममा ६ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियाले वैशाखयता १ हजार ६९ जनामा संक्रमण पुष्टि भइसकेको जानकारी दिइन् । ‘डेंगुको संक्रमण दिन प्रतिदिन बढ्दो छ,’ उनले भनिन्, ‘नियन्त्रणका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ ।’

प्रदेशका १४ जिल्लामध्ये मोरङमा सबैभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार मोरङको पनि लेटाङ नगरपालिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

हालसम्म मोरङमा ४ सय १२, सुनसरीमा १ सय ९८, झापामा १ सय ४४, धनकुटामा १ सय १, भोजपुरमा ६६ जना, संखुवासभा र ओखलढुंगामा ३६/३६, सोलुखुम्बुमा ३१, इलाममा १७, उदयपुरमा १६, खोटाङमा ५ र तेह्रथुममा २ जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको थपलियाले बताइन् । ताप्लेजुङमा भने संक्रमित भेटिएका छैन ।

विगतमा प्राय तराईका जिल्लामा डेंगुको संक्रमण धेरै हुने गरेको थियो । तर, अहिले पहाडी र हिमाली जिल्लामा पनि फैलिएको छ । पहाडी र हिमाली जिल्लामा तीव्र गतिमा डेंगु फैलनु चिन्ताजनक विषय रहेको मन्त्रालयले जनाएको छ ।

डेंगु फैलिएकामध्ये संखुवासभा र सोलुखुम्बु हिमाली जिल्ला हुन् । हिमाली जिल्ला ताप्लेजुङबाहेक प्रदेशका १३ वटा जिल्लामा फैलिएको छ ।

प्रदेश सरकारले नियन्त्रणका लागि स्थानीय सरकारसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम तथा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको जनाएको छ । स्वास्थ्य सचिव थपलियाका अनुसार घर वरपर पानी जम्न नदिँदा तथा एसी र फ्रिजबाट निस्केको पानी दैनिक सफा गर्दा एवं लामखुट्टेको टोकाइबाट बच्दा डेंगुको जोखिम कम हुन्छ ।

तपाइको प्रतिक्रिया
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×