
विराटनगर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा इस्कोन विराटनगरले नरसिंह महायज्ञदेखि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
विराटनगरको जैन भवनमा सोमबार बिहानबाट सुरु भएको कार्यक्रम मध्यरात कृष्ण जन्मोत्सव महाअभिषेक र महाप्रसाद वितरणपछि समापन हुने इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले जानकारी दिए । सचिव जोशीका अनुसार बिहान गरिएको नरसिंह महायज्ञका लागि महाविष्णु स्वामी महाराजको नेतृत्वमा भक्तवेदन्त गुरुकुल काठमाडौंका बटुकको सहभागिता रहेको थियो ।
महाविष्णु स्वामी महाराज जिबिसी नेपालको क्षेत्रीय सचिव भएको बताउँदै जोशीले भने, ‘कृष्ण जन्माष्टमीका अवसरमा महायज्ञसँगै दिनभर र मध्यरातसम्म विभिन्न कार्यक्रम गरिँदैछ । यसक्रममा श्रीमद् भागवतमा प्रवचनसमेत महाविष्णु स्वामी महाराजले दिएका थिए । प्रवचनपछि नरसिंह महायज्ञ उनकै नेतृत्वमा भएको छ । हामीले कला संस्कृति, सांस्कृतिक कार्यक्रम, जन्माष्टमी विशेष कथा, सन्ध्या आरती, श्रीकृष्ण लीला वर्णनलगायतका कार्यक्रम गर्ने तालिका राखेका छौं ।’
महायज्ञसंगै विभिन्न कार्यक्रममा विराटनगरका उद्योग क्षेत्र, राजनीतिक दलका व्यक्तित्वसहित करिब ५ सय जना श्रद्धालुको सहभागिता रहेको उनले जानकारी दिए ।























