
विराटनगर । मोरङको उर्लाबारीमा ग्यास बोकेको ट्रकले ठक्कर दिँदा सोमबार साँझ साइकल यात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा साँझ ६ः१० बजेतिर दुर्घटना भएको हो । उर्लाबारीबाट पथरीतर्फ आउँदै गरेको को १ क ७१० नम्बरको मिनी ट्रकले पश्चिमतर्फ नै आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकल यात्री उर्लाबारी–२ का अन्दाजी ६० वर्षीय गोकल भट्टराईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
साइकलले बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनालगत्तै ट्रक र चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का २६ वर्षीय श्रवणकुमार चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।























