सुन्दरहरैँचाको मिलमा अवैध काठ, १ सय ३५ क्वीफिट बरामद

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ११, मंगलबार १०:१५
काठ बरामद गर्दै वन कार्यालयको टोली ।

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा रहेको एउटा काठ मिलमा अवैध काठ फेला परेको छ ।

वन कार्यालयका अनुसार हिमाल काठ उद्योगमा लुकाइछिपाइ राखेको सिसौ प्रजातिको चिरान काठ भेटिएको हो । मिलमा अवैध काठ लुकाएर राखेको सूचना प्रहरीलाई आएको थियो । वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सोमबार साँझ ६ः३० बजेतिर छापा हानेर काठ बरामद गरेको हो ।

आवश्यक कागजात फेला नपरेपछि काठ बरामद गरिएको सब डिभिजन वन कार्यालय लाटीझोडाका प्रमुख एवं वन अधिकृत अमृत पन्तले बताए । उनका अनुसार काठ सुनसरीको इटहरीबाट ल्याएर मिलमा राखेको पत्ता लागेको छ । वन कार्यालयको अनुमति बिना नै एउटा जिल्लाबाट अर्को जिल्लामा काठ ओसारपसार गरेको पाइएको पन्तले बताए ।

उनका अनुसार काठ अन्तरजिल्ला लैजाँदा राजस्व तिरेर चिरान आदेशसहितको छुट पुर्जी लिनुपर्ने हुन्छ । तर, प्रक्रिया पूरा नगरिकन बिना इजाजत ल्याएर राखेको पाइएपछि बरामद गरिएको जानकारी वन अधिकृत पन्तले दिए । उनका अनुसार प्रहरी र वन कार्यालयको टोली आएको थाहा पाएपछि काठ लिएर आएकाहरु फरार भएका थिए ।

चिरान काठ ९७ थान (१३५.१६ क्वीफिट) बरामद गरिएको वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त काठ लगभग ५ लाख ४० हजार मूल्य बराबरको छ । ‘सीटी सफारीमा राखेर काठ मिलसम्म ल्याएको पाइयो । तर, धुलिया लागेका पुराना काठहरु छन्,’ पन्त भन्छन्, ‘घरयासी प्रयोजनकै काठ हुनसक्ने देखिन्छ । अन्तरजिल्ला ओसारपसार गर्दा सम्बन्धित निकायबाट इजाजत लिनुपर्ने हुन्छ ।’

मिलका सञ्चालक भेषराज राईले उक्त काठ इटहरीका सन्तोष लम्सालको भएको बताए । ‘म मिलमा थिइन । तर, काठ पठाइदिन्छु, चिरेर राखिदिनु है भनेर लम्साल दाइले भन्नु भएको थियो,’ राई भन्छन्, ‘पहिल्यै चिरेर राखेका काठ फर्निचरको सामान बनाउन आवश्यक ‘साइज’ निकाल्नलाई पुनः चिरान गर्न ल्याइएको हो । आफ्नै बारीमा रोपेको सिसौबाट निकालेको काठ रहेछ ।’

राईका अनुसार लम्सालले ५/६ वर्षअघि बारीको सिसौ चिरेर काठ घरमा राखेको बताएका छन् । त्यही काठ चिरान गर्न मिलमा ल्याएपछि वन कार्यालयले बरामद गरेर लगेको उनको भनाइ छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको वन अधिकृत पन्तले बताए । ‘चिरान काठ भएपनि ओसारपसार गर्न अनुमनि चाहिन्छ । प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने, ‘यस विषयमा मिलका सञ्चालकसँग थप कुरा बुझ्दैछौं । काठका धनी पत्ता लगाउँदैछौं ।’ पन्तले अनुसन्धानपछि बिना इजाजत काठ ओसारपसार गरेको कसुरमा मुद्दा चल्नसक्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.