
विराटनगर । अमेरिकामा अध्ययनका लागि गएकी नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ ।
ह्युस्टनको हिलक्रप्ट्स्थित अपार्टमेन्टमा बस्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । अपार्टमेन्टमा बस्दै आएकी उनी ह्युस्टनको एक कलेजमा अध्ययनरत थिइन् । गोली हान्नेको पहिचान भइनसकेको अमेरिकी अधिकारीले जनाएका छन् ।
गोली हान्नुको कारण पनि खुल्न सकेको छैन । त्यहाँको प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । विद्यार्थीहरु बाहिरी मुलुकबाट अध्ययनका लागि एफ वान भिसामा अमेरिका जाने गर्छन् । प्रहरीले अपार्टमेन्टमा छापा हानेर शव बरामद गरेको छ ।
पाण्डेको हत्या सोमबार अपरान्ह गरिएको हुनसक्ने अनुमान छ । मृतकका नेपालमा रहेका परिवारलाई घटनाको जानकारी भइसकेको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताए । छोरी मुनाले ४ दिनअघि मात्रै आफूसँग कुराकानी गरेको आमा अनिताले बताएकी छन् ।
ह्युस्टन अमेरिकाको दक्षिणी राज्य टेक्ससको एक मुख्य सहर हो । यो अमेरिकाकै चौथो ठूलो सहर हो ।























