
विराटनगर । कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले महिलाहरुको महान पर्व तिजलाई सभ्य बनाउनुपर्नेमा जोड दिएकी छन् ।
सभ्य तरिकाले भेला भएर नाचगान गर्दा तिज भड्किलो नहुने बताउँदै उनले कामकाजी महिलाहरु सधैं एकै ठाउँमा भेट्न असम्भव हुने हुँदा तिजले सामूहिक रुपमा भेटघाटको अवसर पनि जुराउने गरेको बताइन्।
नेपाल नीजामति कर्मचारी संगठन मोरङ र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाद्वारा शुक्रबार विराटनगरमा संयुक्त आयोजित तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राईले महिलाहरु आर्थिक रुपमा सक्षम हुँदै गएको उल्लेख गरिन् । महिलाहरु रमाएको देख्न नसक्नेहरुले मात्र तिजलाई भड्किलो भयो भनेर अपव्याख्या गरिरहेको उनको भनाइ छ ।
‘विभिन्न संघ संस्थाले वर्ष दिनमा १ पटक दर खुवाउने कार्यक्रम राख्ने र गाउँघरमा पनि महिलाहरु मिलेर कार्यक्रम गर्ने हुनाले तिजका कार्यक्रम धेरै भएजस्तो देखिन्छन्,’ राईले भनिन्, ‘एकैपटक धेरै कार्यक्रम भएकै आधारमा तिजलाई भड्किलो भयो भनेर भन्न मिल्दैन ।’ तर, तिजलाई सभ्य बनाउनुपर्नेमा उनको जोड छ ।
‘पहिलाजस्तो समय छैन । महिलाहरु आर्थिक रुपमा सक्षम भइसकेका छन् । अरु बेला घेटघाट र जमघट गर्न समय हुँदैन । वर्ष दिनमा १ पटक सामूहिक भेटघाटको अवसर जुराउने पर्व तिज महिलाहरुका लागि निक्कै महत्वपूर्ण छ,’ राईले भनिन् । राज्यमन्त्री राईले सामूहिक एकताको पर्वमा महिलाहरुको अलिबढी सहभागिता हुनेबित्तिकै तिज भड्किलो भयो भन्न नमिल्ने उल्लेख गरिन् ।

पहिला–पहिला महिलालाई घरबाट बाहिर निस्किन नदिने र घरको काममा मात्र लगाइने गरेको स्मरण गर्दै कोशी प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले घरमा पाएको दुःख तिजमा माइत गएर गीतमार्फत सुनाउने प्रचलन अहिले फेरिएको बताइन् ।
‘पहिलाको जस्तो सानो उमेरमा बिहे हुँदैन । अहिले सबै कुरा बुझ्नुहुन्छ महिलाहरुले । पहिलाको जस्तो घरभित्र मात्र सीमित हुनु पर्दैन,’ उनले भनिन्, ‘महिलाको आबद्धता भएका संस्थाले १ वर्षमा १ दिन कार्यक्रम गर्दा धेरै देखिन्छ । तर, कार्यक्रम त एउटा संस्थाले १ दिन त गरेको हो । तिजलाई भड्किलो नभइ महिलाहरुको सहभागिता बढेको रुपमा लिनुपर्छ ।’

विराटनगर महानगरपालिकाकी उममेयर शिल्पा निराला कार्कीले महिलाहरुको माइती विस्तार भएसँगै तिजका कार्यक्रमहरु प्नि बढ्दै गएको बताइन् । उनले भनिन्, ‘पहिला हामी जन्मेको घर मात्र महिलाहरुको माइती थियो । अहिले हाम्रो माइती विस्तार भएको छ । हामी आबद्ध कार्यालय, संघ संस्थाहरुले चेलीहरुलाई वर्षको १ पटक दर खुवाउँछन् । धेरै माइतीले एक–एक पटक गर्दा धेरै हुन जान्छ । हामीलाई माइतीहरुले सामूहिक रुपमा भेट गर्ने अवसर जुराइदिनुहुन्छ । अरु कार्यक्रम भड्किलो नहुने, अनि महिलाहरु सहभागी कार्यक्रम मात्रै भड्किलो हुने हुँदैन ।’
महिलाको घरको काम पनि भ्याउनुपर्ने र वर्षमा १ पटक समय निकालेर रमाइलो गर्दा चाडपर्वलाई भड्किलो बनाएर भनेर भन्न नहुने उपमेयर कार्कीको भनाइ छ । ‘तिज पर्व भड्किलो हैन,’ उनी भन्छिन्, ‘मान्छेको सोच मात्रै भड्किलो हो ।’
कार्यक्रममा एबीसी नेपालमा रहेका महिला तथा बालिकाहरुलाई पनि नेपाल निजामती कर्मचारी संगठन मोरङ र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा दर खुवाएका थिए । तिज विशेष कार्यक्रममा संगीनी नृत्य पनि प्रस्तुत गरिएको थियो ।

नेपाल नीजामति कर्मचारी संगठन महिला विभाग प्रमुख टीका पाठकको अध्यक्षता तथा राज्यमन्त्री राईको प्रमुख आतिथ्यतामा भएको तिज विशेष कार्यक्रमको अवसरमा पारेर मानबहादुर राई स्मृति पुरस्कार पनि प्रदान गरिएको थियो । ५ हजार राशिको पुरस्कार कर्मचारी गीता भुजेललाई प्रदान गरिएको छ ।

कार्यक्रममा सहभागीहरुलाई निजामती कर्मचारी संगठनका मोरङ अध्यक्ष शालीग्राम कोइरालाले स्वागत गरेका थिए । उनले तिजलाई सामूहिकता र हार्दिकताको महत्वपूर्ण पर्वका रूपमा सबैले बुझ्नुपर्ने उल्लेख गरे ।























