क्यूआर कोडसहित कोशीमा अस्थायी लाइसेन्स वितरण गरिँदै

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १६, आइतबार १४:५०

विराटनगर । क्यूआर कोडसहित कोशीमा सवारी चालक अनुमतिपत्र ( लाइसेन्स)को अस्थायी कार्ड वितरण गरिँदै छ ।

सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स वितरण गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । अस्थायी कार्डको परीक्षणको रुपमा विराटनगरमा आइतबारदेखि वितरण थालिएको हो । तालिमपछि अन्य कार्यालयबाट पनि वितरण हुनेछ ।

अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुने र ट्रायल पास भएकालाई स्मार्ट कार्ड (लाइसेन्स)यातायात व्यवस्था विभागले नै बाँड्ने छ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरु स्मार्ट कार्डको पर्खाइमा छन् ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले अब नयाँ ट्रायल पास गर्नेलाई अस्थायी कार्ड दिइने बताए । यसअघि ट्रायल पास भएको बिल वितरण गरिन्थ्यो ।

ट्रायल पास गरेकालाई क्यूआर कोडसहितको एक वर्षको अस्थायी कार्ड विराटनगरमा पहिलो चरणमा वितरण गरिन लागेको हो । विराटनगरमा परीक्षण गरेपछि अन्य कार्यालयमा कार्ड पठाइने थापाले बताए ।

थापाका अनुसार अस्थायी कार्ड वितरणका लागि यातायात कार्यालय विराटनगरमा मेसिनसहित ३ हजार अस्थायी कार्ड पठाइएको छ ।

यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो । अस्थायी कार्ड छपाई गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर मेसिन र कार्ड खरिद गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.