विराटनगरकाे ५ स्थानमा ट्राफिक लाइट जडान सुरु

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १८, मंगलबार १७:२५

विराटनगर । ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न सुरु गरेको छ ।

असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी कार्य सुरु गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए । कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ ।

बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा निकै सहयोग पुग्ने मेयर कोइरालाको भनाइ छ । महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान सुरु गरिएको महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

महानगरले ७७ लाख रुपैयाँको लागितमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान सुरु गरेको छ । हाल खम्बा गाड्ने कार्य भइरहेको छ । ट्राफिक लाइट जडान गर्न ठेक्का पाएको ई थ्री यार्सा जेभी काठमाडौंले हाल धमाधम कार्य गरिरहेको छ ।

ट्राफिक लाइट जडानको कार्य आगामी असोज मसान्तसम्म सकिने महानगरको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् ।

महानगरले ट्राफिक लाइट जडान गरेपछि विराटनगरको छ स्थानमा ट्राफिक लाइट हुनेछ । सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले बताए । अब लाइट जडानपछि भने थोरै जनशक्ति भए पनि ट्राफिक व्यवस्थापनमा केही सहज हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.