
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनलाई सहज पार्न निर्माण हुन लागेको केबलकार निर्माणमा साथ र सहयोग रहने ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले बताएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पाथीभरा क्षेत्र गाउँपालिकाको पनि एक क्षेत्र रहेकाले यहाँ हुने हरेक विकास निर्माणको काममा आवश्यकता अनुसार सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र तीर्थ स्थलक्षेत्र ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट १९.४ किलोमिटर उत्तर तर्फ फुङलिङ नगरपालिका वडा नं. १० र ११, फक्तालुङ गाउँपालिका ३ र ५ तथा सिरिजङ्गा गाउँपालिका ३ र ६ को केन्द्रबिन्दुमा छ ।
गाउँपालिकाकाले जारी विज्ञप्तिमा भनिएको छ,‘यस गाउँपालिकाको भौगोलिक क्षेत्र समेत पर्ने उक्त क्षेत्रमा गरिने हरेक विकास निर्माण कार्यमा यस गाउँपालिका आजको आवश्यकता र विकसित युगमा विकासलाई रोक्ने कार्यमा नरहेको हुँदा सिरिजङ्गा गाउँपालिकाको तर्फबाट उक्त स्थानमा केबुलकार निर्माण गर्ने कार्यमा सहयोग समन्वय र सहकार्य गर्न प्रतिवद्ध रहेको साथै निर्माण कार्य सम्पन्न पश्चात हुने राजश्व बाँडफाँडको हिस्सा नियमानुसार यस गाउँपालिकालाई समेत अनिवार्य रूपमा साझेदारी प्रदान गर्नु पर्ने सबै सरोकारवालाहरूलाई जानकारी गराएको छ ।’
उक्त पुरातात्विक, मौलिक, धार्मिक, पवित्र स्थल पाथिभरा देवीको दर्शनका लागि लाखौं तीर्थयात्रीहरू वार्षिक रूपमा जाने तथा उक्त क्षेत्रमा रोजगारी, धार्मिक पर्यटन, आर्थिक गतिविधिहरू प्रवर्द्धन भइरहेको अवस्थामा केबलकार निर्माण हुनु अझै खुसीको कुरा भएको गाउँपालिकाकाका जारी विज्ञप्तिमा उल्लेख छ ।























