
विराटनगर । कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीमा एक जना पैदलयात्रीलाई ठक्कर दिएर सवारीसाधन फरार भएको छ ।
दुर्घटनामा बूढीगंगा–३ का ५१ वर्षीय पूर्णबहादुर तामाङ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
सडक पार गर्दै गर्दा उनलाई पहिचान नखुलेको सवारीसाधनले शुक्रबार राति १०ः५५ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै फरार भएको सवारीसाधनको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार दुर्घटनामा संलग्न सवारीसाधनको पहिचान खुलेको छैन भने नम्बर प्लेट पनि पत्ता लगाउन सकिएको छैन । घटनाको प्रकृति हेर्दा तामाङलाई सवारीसाधनले ठक्कर दिएको पत्ता लागेको हो ।























