
विराटनगर । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मोरङको अध्यक्षमा सरोज राई निर्वाचित भएका छन् ।
मोरङको सुन्दरहरैँचामा सम्पन्न १६ औं जिल्ला सम्मेलनबाट ८१ मत ल्याएर उनी निर्वाचित भएका हुन् । राईका निकटतम प्रतिस्पर्धी शशि यादवले ५३ मत मात्रै ल्याए ।
त्यस्तै, उपाध्यक्षमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् । उपाध्यक्ष पदका प्रत्याशी अनिल अधिकारी र रोशन यादव पराजित भए । सचिवमा सतिश कार्की सर्वसम्मत चयन भएका छन् ।
सहसचिवमा अनिष कार्की र अनिष पौडेल निर्वाचित हुँदा दीपेन्द्र राई र दर्शन साह पराजित भए । महिला सहसचिवमा रविना चौधरी सर्वसम्मत चयन भइन् । त्यस्तै कोषाध्यक्षमा शितल दर्नाल निर्वाचित भए भने कृतिका खनाल पराजित भइन् ।
सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति हुन नसकेपछि आइतबार अबेर निर्वाचन भएको थियो । उक्त निर्वाचनको मतपरिणाम आइतबार राति नै सार्वजनिक भएको हो ।
मोरङका १७ वटै पालिकाबाट सहभागी १ सय ४२ मतदातामध्ये १ सय ३५ जनाले मतदान गरेको अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष नगेन्द्र घिमिरेले जानकारी दिए । ५१ सदस्यीय समितिमा ४२ जना कार्यसमिति सदस्यहरुको छनोट हुन बाँकी छ ।



















