
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारतीय वृद्ध दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।
भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो ।
भारतीय वृद्ध दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको प्रहरीले जनाएको छ । बस्नेतका अनुसार करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ प्रवीण खड्का नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेको छ । शव अहिले घटनास्थलमै छ ।
कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा टोली परिचालन गरिएको डीएसपी बस्नेतले बताए । शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिने जानकारी उनले दिए ।























