कोशीमा अस्थायी लाइसेन्स वितरण सुरु

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २६, बुधबार १७:५५

इटहरी । कोशी प्रदेशमा बुधबारबाट पहिलोपटक अस्थायी लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण सुरु भएको छ ।

प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेलगत्तै लाइसेन्स वितरण हुन थालेको हो । ‘स्मार्ट लाइसेन्स’को लागि ३ वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलोपटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको छ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाई लाइसेन्स दिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सेवाको औपचारिक उद्घाटन गरेका हुन् । प्रदेशका नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री कार्कीले अबदखि ‘ट्रायल’ पास भएलगत्तै लाइसेन्स पाइने जानकारी दिए ।

‘सबै कुराको आवश्यक व्यवस्था मिलाउन केहीदिन समय लाग्छ,’ कार्कीले भने, ‘पासपोर्टजस्तै लाइसेन्स पनि आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर दिने व्यवस्था गर्दैछौं ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै ‘स्मार्ट लाइसेन्स’ छाप्ने गरिको तयारी भइरहेको बताए । गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरुको संयुक्त बैठकले सवारी चालक अनुमति पत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्यूआर कोडसहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो ।

सोही अनुसार सबैभन्दा पहिला कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको हो । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू ७ वटा छन् । अब सबै कार्यालयबाटै अस्थायी लाइसेन्स पाउने व्वस्था सुरु गरिएको छ ।

जसको समयावधि १ वर्षको हुनेछ । १ वर्षभित्रै स्थायी स्मार्ट लाइसेन्सको छपाईसमेत प्रदेशबाटै गर्ने तयारी भइरहेको अधिकारीले बताए ।

नयाँ, थप र प्रतिलिपिसमेत गरी अहिले कोशीबाट मासिक १८ हजार सवारी चालक अनुमतिपत्रको लागि निवेदन आउने गरेकोमा यातायात व्यवस्था विभागले स्मार्ट कार्ड छाप्न ढिलाइ गरेपछि सेवाग्राहीहरु पैसा तिरेको रसिद बोकेर हिँड्न बाध्य थिए । अब प्रदेशले नै एकै दिनमा लाइसेन्स दिन सुरु गर्नु अत्यन्तै राम्रो भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.