
विराटनगर । मोरङको मिक्लाजुङमा स्कुटर रुखमा ठोक्किएर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । स्कुटरको पछाडि सवार पुरुष गम्भीर घाइते भएका छन् ।
उर्लाबारीको किसान चोकबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४०६४ नम्बरको स्कुटर मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोकस्थित जंगलमा बिहीबार दिउँसो ४ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा स्कुटर चालक झापाको मेचीनगर नगरपालिका–१ का अन्दाजी ५५ वर्षीय कृष्ण थुलुङको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार दुर्घटनामा मिक्लाजुङ गाउँपालिका–६ का अन्दाजी ५० वर्षीय रमेश राई गम्भीर घाइते भएका छन् । राईको उपचार भइरहेको प्रहरीले जनाएको छ । डीएसपी बस्नेतका अनुसार स्कुटर आफैं अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको थियो ।























