
सप्तरी । सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ मा विङ्गर माइक्रोको ठक्करबाट आइतबार बिहान १० महिने नाबालकको मृत्यु भएको छ ।
राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ३८६६ नम्बरको माइक्रोले पैदलयात्री सप्तरी भारदहकी ५० वर्षीया अनितादेवी अधिकारी र १० महिने नाति आदर्शलाई बिहान ८ बजेतिर ठक्कर दिएको थियो । तीव्र गतिको माइक्रोले ठक्कर दिँदा घाइते भएकामध्ये नाबालकको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
उनका अनुसार घाइते अनितादेवीको उपचार भइरहेको छ । माइक्रो र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी न्यौपानेले दिए ।
तीव्र गतिमा रहेको माइक्रोको ठक्करबाट दुर्घटना भएको भन्दै स्थानीयले पूर्व–पश्चिम लोकमार्ग करिब ४ घण्टा अवरुद्ध बनाएका थिए । सडकको बीचमै टायर बालेर प्रदर्शन गरिएपछि राजमार्गमा सवारी आवागमन प्रभावित बनेको थियो ।
प्रहरीले दिउँसो १२ः३० बजेबाट राजमार्ग खुलाएको छ । अहिले सवारीसाधन नियमित रूपमा संचालन भइरहेको डीएसपी न्यौपानेले बताए ।
प्रहरीले माइक्रो चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ का ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । माइक्रोको ढोकाले लागेर सहचालक रुपनी–२ का २६ वर्षीय दिपेनकुमार साह पनि घाइते भएका छन् ।
उनको बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ । उपचारका लागि सुनसरीको भण्टाबारी अस्पतालमा भर्ना गरिएको डीएसपी न्यौपानेले बताए ।























