भाडाको भवनमा सर्दैछ मोरङको ट्राफिक कार्यालय

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २, बुधबार ०७:२२

विराटनगर । मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालय भाडाको नयाँ भवनमा सार्न सुरु गरिएको छ ।

ट्राफिक कार्यालय यसअघि विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चोकमा थियो । अति नै जीर्ण भवनमा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता ट्राफिक प्रहरीलाई थियो । अब विराटनगर–२ स्थित विराट नर्सिङ होमनजिकै भाडाको भवनमा कार्यालय सर्न लागेको हो ।

मोरङका ट्राफिक प्रमुख इन्सपेक्टर राजन लम्सालका अनुसार कार्यालय सार्ने काम धमाधम भइरहेको छ । अब केही दिनभित्रै व्यवस्थापन गरेर भाडाको भवनबाट कार्यालयको काम सुचारु हुने उनले बताए । गत सोमबारदेखि सामान सार्न थालिएको छ ।

ट्राफिकको आफ्नै भवन अति जीर्ण भएर जोखिममा परेपछि नयाँ ठाउँबाट सेवा दिन लागिएको लम्सालले बताए । उक्त भवन भूकम्पको उच्च जोखिममा थियो । वर्षामा पानी चुहिने र हिउँदामा शीत झर्ने समस्या थियो ।

भवन जोखिमपूर्ण रहेको भनेर राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो व्यक्त गर्दै आएको थियो । ट्राफिकको नयाँ भवन निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग २ वर्षअघि बजेट माग गरिएको थियो ।

बहुवर्षे योजनामा राखेर प्रक्रिया अघि बढाइएको भएपनि नयाँ भवन निर्माणको काम सुरु हुन बाँकी छ । भाडाको भवन भने जोखिममुक्त रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.