विराटनगरको कपडा पसलमा आगलागी, १ करोडको क्षति

Share this
598shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २, बुधबार १५:४४

विराटनगर । विराटनगरको एउटा कपडा पसलमा बुधबार बिहान आगलागी भएको छ ।

विराटनगर महानगरपालिका–७ जैन भवननजिक दीपक कायस्थको घरको भुइँ तलामा रहेको कपडा पसलमा बिहान ४ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कायस्थको घरको सटर भाडामा लिएर विराटनगर–६ का सन्तोष रौनियाले कपडा पसल चलाउँदै आएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीको कारण खुल्न नसकेको जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको बताए । विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

आगोले पसलमा रहेका सबै कपडा जलेर ध्वस्त भएको छ । पसल संचालन गरिएको सटरमा पनि क्षति पुगेको छ । आगलागीमा अन्दाजी १ करोड बराबरको क्षति भएको डीएसपी बस्नेतले बताए । घटनामा मानवीय र चौपाया क्षति भने भएन ।

घर जल्यो
मोरङको बूढीगंगा गाउँपालिका–३ गोकुवामा आगलागी हुँदा घर जलेको छ । बिहान ४ः३० बजेतिर लागेको आगोले पार्वती खड्काको घर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन सबै जलेर ध्वस्त भएको डीएसपी बस्नेतले बताए ।

उनका अनुसार घटनामा करिब ४ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.