
इटहरी । जंगली हात्तीले इटहरी उपमहानगरपालिका–२ जंगल छेउका गाउँमा आतंक मचाएको छ ।
हात्ती पुनः गाउँमा आएर घर भत्काएर उपद्रो गर्न थालेपछि गाउँहरु त्रासमा बस्न बाध्य भएका छन् । इटहरी–२ को माथिल्लो चारकोसे जंगल छेउछाउमा हात्तीले श्रृंखलावद्ध रुपमा घर भत्काउने र बालीनालीमा क्षति पुर्याउने क्रम बढ्दै गएको छ ।
जंगली हात्तीको समूहले बुधबार राति मात्रै इटहरी–२ का देवराज घिमिरेको घर र राम खतिवडाको भन्सा घर भत्काइ दियो । सोही ठाउँका नरबहादुर सुनुवारको पनि हात्तीले केही दिनअघि घर भत्कायो भने अरु ३ परिवारको पनि घर भत्काएको थियो।
त्यस क्षेत्रमा कहिले ५ / ७ वटा र कहिले २५ वटासम्मको हात्तीको बथान बस्ती पसेर आतंक मच्चाउँदा ज्यान जोगाउन मुस्किल हुने गरे छ ।
गत मंसिरको दोस्रो साता सोही ठाउँमा हात्तीको समूहले आक्रमण गर्दा २५ वर्षीय रविन खड्काको मृत्यु भएको थियो ।
हात्ती धपाउन र जंगल क्षेत्र गस्ती गर्नका लागि स्थानीय बासीसँगै प्रहरी खटिने गरेको ताल तलैया प्रहरी चौकीका असई प्रल्लाद बोगटीले बताए ।























