नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल पक्राउ

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार १८:५५

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका छन् । सहकारी ठगीमा मुछिएका जोशीलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

गृहमन्त्री रमेश लेखकले सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएकै दिन जोशी पक्राउ परेका हुन् । गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीलाई पोखरा लैजाने तयारी छ ।

सूर्य थापा नेतृत्वको समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । छानबिन प्रतिवेदन अनुसार जीबी राई (गितेन्द्रबाबु राई) र जोशीले आधा–आधा लगानी गरेर गोर्खा मिडिया नेटवर्क खोलेका थिए ।

जोशीले बुटबलको सुप्रिम सहकारीबाट २ करोड ५० लाख रुपैंया ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । वीरगन्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैंया ऋण लिएका थिए । पछि उनी गोर्खा मिडियाबाट अलग भए ।

सहकारी छानबिन विशेष समितिले जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्नुपर्ने भनेर नामै किटान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.