
विराटनगर । विराटनगरमा मोटरसाइकल र सीटी सफारी ठोक्किएर दुर्घटना हुँदा ठक्कर लागेर घाइते भएका पैदलयात्री वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१० जहदा रोडमा प्रदेश १–०२–०४२ प २८२३ नम्बरको मोटरसाइकल र बी १ ह १८२३ नम्बरको सीटी सफारी ठोक्किएर गत भदौ ३१ गते दुर्घटना भएको थियो । दुर्घटनामा परेका सवारीसाधनले लागेर पैदलयात्री विराटनगर–१० का ७५ वर्षीय जोगेन्द्र महतो गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा आइतबार बिहान पौने १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुघटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर–७ की सुनीता साहसमेत घाइते भएकी थिइन् ।
मोटरसाइकल चालक सुनीताका पति राहुलकुमार साह भने सकुशल छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।























