
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ मा बुधबार दिउँसो करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
ग्रामथान–२ का ५० वर्षीय जगदीश सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा जगदीशलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दिउँसो १ बजेतिर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।























