
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सुनसरीको बाढीग्रस्त क्षेत्रमा पुगेका छन् ।
सुनसरीको बराहक्षेत्र र कोशी ब्यारेज क्षेत्र आसपासका डुबान क्षेत्रको मुख्यमन्त्री कार्कीले आज निरीक्षण गरेका हुन् ।
उनले निरीक्षणका क्रममा बराहक्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गरे ।
मुख्यमन्त्री कार्कीसहित ३ वटै सुरक्षा निकायका प्रदेश प्रमुख पनि बाढी तथा डुबान क्षेत्रमा पुगेका थिए । स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरुको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइ रहेको बताए ।
निरन्तर परिरहेको वर्षाले बाढी पहिरो आइरहेको अवस्थामा उद्दार र राहतका लागि सबै सुरक्षा निकायलगायत अन्य सबैलाई तयारी अवस्थामा रहन मुख्यमन्त्री कार्कीले निर्देशन दिएका छन् ।
बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भइसकेको समेत उनले बताए ।
मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाइ आवागमनमा रोक लगाइएको छ ।
कोशी ब्यारेजको पुलमाथिबाट पानी बग्न थालेकाले थप सतर्कता अपनाउन सबैलाई उनले आग्रह गरेका छन् ।























