
विराटनगर । विराटनगर महानगरपालिका–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।
जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने वृहत्तर खानेपानी परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा २/३ पिस पाइप बिछ्याएर पुरिने छ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिने छ ।
सबै परीक्षण पूरा गरेपछि मात्रै औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले जानकारी दिए ।
खानेपानी परियोजनाको काम चाँडो सम्पन्न भएर महानगरबासी शुद्ध खानेपानी प्रयोग गर्न आतुर रहेको आफूले पाएको वडाध्यक्ष राम पोखरेलले बताए ।
विराटनगरमा खानेपानी संस्थानअन्तर्गतका भइरहेका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्यांकी, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइने छ ।
खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । खानेपानी आयोजनाले १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन् ।























