
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गोठगाउँमा दुर्घटनामा परेर घाइते भएकी १ जना महिलाको मृत्यु भएको छ ।
बेलबारीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ५५९२ नम्बरको मोटरसाइकलले इटहरीतर्फ नै जाँदै गरेको प्रदेश १–०२–०४८ प ६८५९ नम्बरको स्कुटरलाई यही असोज १३ गते साँझ ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक सुन्दरहरैँचा–५ की ३२ वर्षीया मुना गौतम घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा शुक्रबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार बनेका मोटरसाइकल चालक संखुवासभाको मादी नगरपालिका–२ का ३० वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्काविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























