
इलाम । जिल्ला विपद् व्यवस्थापन समितिले इलामको सन्दकपुर गाउँपालिकाको २ नम्बर वडा (माइमझुवा)लाई ‘संकटग्रस्त वडा’ घोषणाका लागि सिफारिस गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले २ नम्बर वडामा बाढी–पहिरोको क्षति धेरै रहेको विवरण आएपछि संघीय सरकारलाई ‘संकटग्रस्त वडा’का रूपमा सिफारिस गरिएको छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा विपद् समितिकी अध्यक्षसमेत रहेकी कल्पना श्रेष्ठले अहिलेसम्म प्राप्त क्षतिको विवरणमध्ये सन्दकपुर–२ मा सबैभन्दा बढी क्षति देखिएकाले यसलाई संकटग्रस्त वडाका रूपमा घोषणा गर्न सिफारिस गरिएको छ ।
अविरल वर्षाका कारण सन्दकपुर–२ को अधिकांश क्षेत्रमा बाटो, पुल, कल्भर्ट, निजी आवास, सिँचाइ, खानेपानी लगायतमा धेरै क्षति पुगेको छ । क्षतिको विवरण संकलन हुने क्रम भने जारी नै छ ।
प्रारम्भिक तथ्यांकको आधारमा डेढ सयभन्दा बढी निजी आवासमा क्षति भई बसोबास गर्न नसक्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । यहाँ जमिन थिलथिलो भई बस्ती स्थानान्तरण गर्नुपर्ने, पैदल बाटोसमेत नभएको र अरू संरचनामा समेत क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव राउतले बताए ।
उनका अनुसार पक्की मोटरेबल पुल एउटा कल्भर्ट ४ वटा, विद्युत्का धेरै पोल, पैदल हिँड्न मिल्ने पक्की पुल ४ वटा, मुख्य तथा सहायक अधिकांश सडकमा क्षति भएको छ ।
२ हजार रोपनीभन्दा बढी क्षेत्रको खेतीबाली, हजार रोपनीभन्दा बढीको बसोबासयोग्य जमिन नष्ट भएको छ ।
खानेपानी आयोजना २० भन्दा बढी, साना सिँचाइ आयोजना ३ वटा, लघुविद्युत्को संरचना १० वटा, विभिन्न पर्यटकीय पूर्वाधारलगायतमा क्षति पुगेको राउतले बताए ।























